
काठमाडौँ, १३ भाद्र । हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ ।
विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ । । हुन त आजभोली तीजको दर तीजभन्दा महिनौं अघिबटै शुरु भइसकेको हुन्छ तथापि परम्परागत रुपमा तीजको एकदिन अगाडि बास्तविक दर खाने चलन छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण धेरै महिला घरमै छन् । बुधबार मध्यरातदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा एवं देशका मुख्यमुख्य शहरमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले धेरैले कर्मघरमै दर खाएर तीज मनाउँदै छन् ।
तीजको व्रत बस्न सक्नेहरु निराहार हुने भएकाले आज बर्तालुहरु मीठामीठा शक्ति प्राप्तिका लागि आडिलो परिकार दरका रुपमा खाई भोलीको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली एवं दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् ।
महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पिर र मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्छन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःखमर्कालाई नारीले पोख्ने गरेका छन् ।
पछिल्ला वर्षमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ । एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउँछन् ।
यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीले जोड दिएका छन् । एक महीनाअघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा तोकिएको छ ।
आज दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तर्षिको पूजा गरी तीज समापन हुन्छ ।
तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । पुराणअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।
यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई बताउँछन् ।
तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गर्दछ । तीज शुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’ गीत बजाइरहेका छन् । घर तथा कार्यालयहरुमा पनि विशेषगरी महिलाहरुको लागी भनेर तिजको दर कार्यक्रम राख्ने र गितहरु बजाएर नाचेर रमाइरलो गर्नै परम्पराको विकास पनि हुन थालेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे