
काठमाडौं — नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दालाई लिएर कडा प्रतिक्रिया दिएकी छन्। शनिबार लुम्बिनीमा आयोजित युवा संघ नेपालको प्रदेश भेलालाई सम्बोधन गर्दै उनले नेपालमाथिको कानुनी र संवैधानिक प्रश्न उठाउँदै पार्टीले यथास्थितिमा अगाडि बढ्न नसक्ने बताइन्।
झाँक्रीले पार्टीभित्र संकट उत्पन्न भएको उल्लेख गर्दै अर्ली महाधिवेशनको माग गरिन्। उनले भनिन्, “पार्टीमा संकट आयो, अध्यक्षकै बारेमा आयो। अब के गर्ने? भागेर होइन, पुनर्गठन गरेर अगाडि बढ्ने हो।”
उनको धारणा अनुसार, अध्यक्षमाथि भ्रष्टाचार मुद्दा चलिरहेको बेला नेतृत्व परिवर्तनको प्रक्रिया सुरु गरेर पार्टीलाई पुनः जीवित बनाउनु आवश्यक छ। “काँधमा मरेको सिनो हालेर हिँड्न सकिँदैन,” भन्दै झाँक्रीले परोक्ष रूपमा अध्यक्ष नेपालको आलोचना गरिन्।
उनले पार्टीको नेतृत्व चयन अर्ली महाधिवेशनमार्फत वा पुनर्गठन प्रक्रियाबाट हुनुपर्ने बताउँदै, संकट समाधानको मार्ग यही हो भनेकी छन्।
झाँक्रीको यस्तो टिप्पणीले पार्टीभित्र नेतृत्वको वैधानिकता र नैतिकतामाथि गम्भीर बहस सुरु गराएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे