
काठमाडौं ,साउन २६। आयोजना प्रभावितले कुनै पनि आयोजनाको प्रतीक्षा कति समय गर्नुपर्ने होला ? डोटीको ढुङ्गाड क्षेत्रका बासिन्दालाई सोध्यो भने थाहा हुन्छ ।
विकास र समृद्धिको सपनामा झण्डै ४० वर्षदेखि पश्चिम सेतीको बहाव हेर्दै बसेका त्यस क्षेत्रका नागरिक यतिखेर खुसी छन् । अब आयोजना बन्ला भन्ने आशा उनीहरुमा पलाएको छ । एउटा सपनाजस्तै ठानिएको सो परियोजना नितान्त नयाँ स्वरुपमा अघि बढ्ने कुराले सिंहदरबार आसपासमा चर्चा पाएपछि डोटी, डडेल्धुरा र अछामका जनतामा केही आशा पलाएको हो ।
आयोजना बन्ला र सुदूरपश्चिम प्रदेशको समृद्धिको सपना पूरा होला भनेर बसेका सेती किनारका धेरैले त आश मारिसकेका थिए । उनीहरुले पनि अहिले आशा पलाएको बताएका छन् । वर्षौंदेखि एउटै कुरा सुन्दै आएका ढुङ्गाड क्षेत्रका बासिन्दालाई पश्चिम सेतीको चर्चा सिंहदरबार आसपास चल्दा व्यङ्ग्यजस्तै लाग्थ्यो । निर्वाचनको समयमा अधिकांश राजनीतिक दलका नेताले आयोजनाको मीठो सपना देखाए । धेरैले त पश्चिम सेती नै देखाएर धेरै पटक सिंहदरबार पनि आए तर दुःखको कुरा यो छ कि यता आएपछि त्यो आयोजना बनाउनुपर्छ भन्ने बिर्सिए ।
लामो समयदेखि यस्तै चर्चा मात्रै चल्दै आएको सो आयोजना अब भने अगाडि बढ्ने भएको छ । लगानी बोर्डको यही साउन २३ गते बसेको बैठकले सो आयोजना अगाडि बढाउन भारतको सरकारी कम्पनी एनएचपीसीलाई जिम्मेवारी दिएको छ । कूल सात सय ५० मेगावाट क्षमताको सो आयोजनासँगै चार सय ५० मेगावाट क्षमताको सेती नदी छ आयोजनाको अध्ययनसमेत सोही कम्पनीले गर्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे