
काठमाडौं, ३१ भाद्र । धनगढीमा २० औं सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । सत्याग्रहको आज पाचौं दिन पुग्दा सेती प्रादेशिक अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे विज्ञप्ती जारी गर्दै जटिलता बढ्दै गएको जनाएको छ ।
सेती प्रादेशिक अस्पतालका अनुसार टाउको दुख्ने, रिङटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न गार्हो हुने, छाती दुख्ने, शरिरको मांसपेशी दुख्ने, बाउडिने, मुटुको धड्कन गडबडी, कम रक्तचाप,श्वासप्रश्वास दर बढ्दै र तौल घट्दै गएको छ । त्यस्तै प्रयोगशाला रिपोर्टमा सुगर धेरै कम भएको र क्याल्सियम, फस्फोरस र म्याग्नेसियम कम र पिसाबमा किटोनबडी बढ्दै गएको जनाइएको छ ।
उनको स्वास्थ्य निरन्तर परिक्षण भइरहेको जनाउदै अस्पतालले सम्भावित जटिलताका रुपमा शरिरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोश, कम्पन हुन सक्ने, रोगसँग लड्ने क्षमता कम भएर विभिन्न संक्रमण हुनसक्ने मुटुको धड्कन, श्वासप्रश्वास र रक्तचाप गडबड भई ज्यानसमेत जानसक्ने जानकारी दिएको छ ।
डाक्टर केसीलाई पोषण तत्व र पानी आवश्यकता अनुसार लिन आग्रह गरिए पनि लिखित रुपमै पानी र नशाबाट रिङगर ल्याक्टेट बाहेक कुनै पदार्थ नलिने भनी निषेध गरेको अस्पतालले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे