
काठमाडौं — रंगहरूको पर्व फागु पूर्णिमाको औपचारिक सुरुवात आजबाट भएको छ। काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ शुक्रबार बिहान परम्परागत चीर ठड्याएपछि होली पर्व विधिवत् रूपमा सुरु भएको हो। बिहान ८ बजेर ३३ मिनेटको साइतमा चीर ठड्याइएको थियो।
फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व प्रारम्भ हुने परम्परा रहँदै आएको छ। परम्पराअनुसार रंगीचंगी कपडाका टुक्राहरू झुन्ड्याइएको चीर ठड्याएपछि अबीर छर्की हर्षोल्लासका साथ पूजाआजा गरी होली मनाउने चलन रहेको छ।
करीब ३० फिट अग्लो तीनतले छत्रसहितको चीर ठड्याइएपछि राजधानीमा फागु उत्सव सुरु भएको मानिएको छ। वसन्त उत्सवका रूपमा समेत मनाइने होलीको पौराणिक तथा सांस्कृतिक महत्त्व रहेको छ। यसै क्रममा हनुमानढोका परिसर, हनुमानढोका भित्र रहेको डाखचोक र मोहनकाली चोकमा समेत मयलरुखको हाँगामा रंगीचंगी कपडाका टुक्राहरू झुन्ड्याएर चीर गाडिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे