
काठमाडौँ । नेपाललाई अल्पविकसित देश (LDC) श्रेणीबाट ग्राजुएसन गराउने तयारी र त्यसका लागि आवश्यक कानुनी तथा नियामक संरचना सुदृढीकरणबारे नेपालका मन्त्रीहरूसँग युरोपेली टोलीले गहन छलफल गरेको छ ।
युरोपेली टोलीले अर्थ मन्त्रालयका माननीय मन्त्री रमेश्वर खनाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हासँग सम्पन्न भेटवार्तामा नेपालको आगामी LDC ग्राजुएसन तयारीलाई प्रभावकारी बनाउन आवश्यक कदमबारे सुझाव र प्रतिबद्धता व्यक्त गरेको हो ।
भेटवार्तामा व्यापारिक विश्वास अभिवृद्धि र विदेशी लगानी आकर्षित गर्न सक्षम कानुनी तथा नियामक ढाँचा विकास गर्नु अपरिहार्य रहेकोमा दुवै पक्ष सहमत भएका छन् । टिम युरोपले नेपाललाई समावेशी तथा दिगो आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न आवश्यक सहयोग गर्ने दृढता प्रकट गरेको छ ।
नेपाल सरकारका प्रतिनिधिहरूले पनि युरोपेली साझेदारसँगको सहकार्यले नेपालको आर्थिक रुपान्तरणमा नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे