
काठमाडौँ — विद्यालय शिक्षा विधेयकमा संशोधनको माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासंघले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वनस्थलीस्थित कार्यालयमा धर्ना दिएको छ।
यसअघि महासंघले कांग्रेस, एमाले, माओवादी केन्द्र र नेकपा एसको कार्यालयमा पनि दैनिक दुई घण्टा धर्ना दिइसकेको छ। महासंघले भदौ २१ गतेसम्म माग पुरा नभए दोस्रो चरणको कडा आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ।
भदौ २५ गते प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक छलफलका लागि पेस हुन सक्ने कार्यसूचीमा परेको छ। महासंघले सरकारले विगतमा गरेको सहमति अनुसार विधेयक संशोधन गर्न माग गर्दै पहिलो चरणको आन्दोलन अन्तर्गत रास्वपा कार्यालयमा धर्ना दिएको हो।
महासंघले अस्थायी शिक्षकको पदपूर्ति ७५% आन्तरिक प्रतिस्पर्धा र २५% खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग गरेको छ। तर विधेयकमा ६०% आन्तरिक र ४०% खुला प्रतिस्पर्धाको व्यवस्था प्रस्ताव गरिएको छ। यस्तै, विद्यालय कर्मचारीको पद र तलब सुनिश्चित नभएको, बालकक्षा शिक्षकको सेवा सुविधा निश्चित नगरिएको, र संस्थागत विद्यालयका शिक्षकहरूका लागि व्यवहारिक सरुवा प्रणाली नल्याइएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे