
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा (मंसिर मसान्तसम्म) सरकारले ४ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालयका तथ्यांकअनुसार यो रकम गत आर्थिक वर्षको समान अवधिको तुलनामा १.६५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा सरकारको राजस्व संकलन ३ खर्ब ९९ अर्ब रुपैयाँ रहेको थियो।
राजस्व संरचनामा कर राजस्वको योगदान उल्लेखनीय रूपमा बढेको देखिन्छ। चालु वर्षको पाँच महिनामा कर राजस्व ५.१४ प्रतिशतले वृद्धि भई ३ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा कर राजस्व ३ खर्ब ६२ अर्ब रुपैयाँ संकलन भएको थियो, जसले कर संकलनमा सुधार आएको संकेत गर्दछ।
तर, गैरकर राजस्वमा भने उल्लेखनीय गिरावट देखिएको छ। गैरकर राजस्व ५३ प्रतिशतले घट्दै २४ अर्ब रुपैयाँमा सीमित भएको छ, जबकि गत वर्ष यही अवधिमा ३७ अर्ब रुपैयाँ गैरकर राजस्व संकलन भएको थियो।
खर्चतर्फ हेर्दा, सरकारको कुल खर्च १.४ प्रतिशतले वृद्धि हुँदै ५ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ। यद्यपि, पुँजीगत खर्चमा उल्लेखनीय गिरावट आएको छ। पुँजीगत खर्च २० प्रतिशतले घटेर ३३ अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको छ। त्यस्तै, वित्त व्यवस्थापनतर्फको खर्च पनि घटेर १ खर्ब ३२ अर्ब रुपैयाँमा झरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे