
काठमाडौं। सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबसहित २६ वटा सामाजिक सञ्जाल नेपालमा बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई रोक लगाउने तयारी अघि बढाएको हो।
मन्त्रालयले बिहीबार बसेको बैठकपछि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै आजदेखि सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिएको स्रोतले जनाएको छ। यसअघि मन्त्रिपरिषदले गरेको निर्णय र सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने सहमति बैठकमा भएको हो।
सर्वोच्च अदालतको न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले बुधबार सरकारलाई परमादेश जारी गरेको थियो। अदालतले नेपालमा विदेशी प्रसारण गर्ने कम्पनी तथा सामाजिक सञ्जालले अनिवार्य रूपमा दर्ता र अनुमतिपत्र लिनुपर्ने आदेश दिएको छ।
साथै, आवश्यक कानुन निर्माण गरी कार्यान्वयनमा लैजान पनि सरकारलाई निर्देशन दिएको हो।
सञ्चार मन्त्रालयका अधिकारीहरूका अनुसार दर्ता नगरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल लागू हुनेछ। यससँगै नेपालमा सञ्चालित अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल सेवाले नेपाल सरकारसँग कानुनी प्रक्रिया पूरा गरेर मात्र सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था हुनेछ।
नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या तीव्र गतिमा बढिरहेको अवस्थामा सरकारले गरेको यो निर्णयले प्रयोगकर्तामा तत्कालीन प्रभाव पार्ने देखिएको छ। तर मन्त्रालयका अनुसार निर्णयको उद्देश्य अनियन्त्रित सामाजिक सञ्जालको प्रयोगलाई कानुनी ढाँचाभित्र ल्याउनु र नियमनमा मजबुती गर्नु हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे