
काठमाडौं । सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज मंसिर २९ गते अन्तिम दिन रहेको छ। बैंकले मंसिर २५ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो।
नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबरको १७ करोड २३ लाख ८८ हजार रुपैयाँको आईपीओ निष्कासन गरिरहेको छ। यसअन्तर्गत प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १७ लाख २३ हजार ८८० कित्ता साधारण सेयर जारी गरिएको हो।
कुल निष्कासित सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यस सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे