
भोजपुर — ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तार भएपछि स्थानीय उत्पादनको बजारीकरण सहज भएको छ। सडक पहुँचले यहाँका किसानहरूलाई कृषि उपज बिक्रीबाट आर्थिक रूपमा सक्षम बनाएको बताइएको छ।
सदरमुकाम देउराली चोकदेखि चखेवाभञ्याङसम्मको ४२ किलोमिटर सडक कालोपत्र भएपछि यो क्षेत्र काठमाडौँसम्म जोडिएको छ। खोटाङ भएर जाने यो मार्गका कारण स्थानीय बजारमा बिक्री हुन नसकेका उत्पादनहरू राजधानी काठमाडौँ र अन्य सहरहरूमा पुर्याउन किसानहरूले सहज भएको उल्लेख गरेका छन्।
कृषि उपज काठमाडौँबाहेक धरान, विराटनगरजस्ता पूर्वी क्षेत्रका सहरमा पनि बिक्री भइरहेको छ। टेम्केमैयुङ–५ का किसान सन्तोष विष्टका अनुसार केही व्यापारीहरू धान र मकै किन्ने उद्देश्यले घरखेतमै पुग्ने गरेका छन्।
त्यस्तै, भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल निर्माण भएपछि पूर्वी क्षेत्र र तराईका जिल्लाबीचको आवतजावत मात्र होइन, स्थानीय उत्पादनको बजारीकरण पनि सरल भएको स्थानीयले बताएका छन्।
एसियाली विकास बैंकको ऋण सहयोगमा कालोपत्र गरिएको भोजपुर–लेगुवा ६६ किलोमिटर सडकले यस क्षेत्रलाई धनकुटा हुँदै धरानसँग जोडेपछि यहाँ नियमित रूपमा सार्वजनिक सवारी सञ्चालन भइरहेको छ। यातायातको सहजताले व्यापारीहरूलाई व्यवसाय विस्तार गर्न थप प्रोत्साहित गरेको जनाइएको छ।
भौतिक पूर्वाधारको विकासले भोजपुरका ग्रामीण समुदायको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे