
काठमाडौं, असार १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उक्त आदेश दिएको हो। साथै, अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेशसमेत दिएको छ।
डा. ढकालले आफू रास्वपाको वैध महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न पाउने व्यवस्था मिलाइयोस् भनी रिट दायर गरेका थिए। उनले पार्टीको निर्णयविरुद्ध उत्प्रेषणको आदेश बदर गरियोस् भन्ने मागसहित सर्वोच्च पुगेका हुन्।
रिटमा उनले रास्वपाका हाल थुनामा रहेका सभापति रवि लामिछाने, नवनियुक्त महामन्त्री कविन्द्र बुर्लाकोटी, तथा प्रवक्ता मनिष झालाई विपक्षी बनाएका छन्। पार्टीले ढकाललाई हटाइसकेको भए पनि निर्वाचन आयोगको अभिलेखमा उनी अझै महामन्त्रीकै रूपमा दर्ता छन्। यही विवरण गत बिहीबार सार्वजनिक भएपछि शनिबार बसेको केन्द्रीय समिति बैठकले बुर्लाकोटीलाई महामन्त्री र झालाई प्रवक्ताको रूपमा मनोनयन गरेको थियो।
तर, ढकालले सो निर्णयको वैधानिकता चुनौती दिँदै अदालत पुगेका हुन्। उनीमाथि पार्टी सभापति रवि लामिछानेविरुद्ध सार्वजनिक रूपमा टिप्पणी गरेको आरोप लागेको थियो, जसका कारण उनलाई पदबाट हटाइएको हो।
अब यस विषयमा अन्तिम निर्णय अदालतको छलफलपछि हुने छ। अदालतले दुबै पक्षलाई उपस्थित हुन भनेपछि अब यस मुद्दाले पार्टीको आन्तरिक विवाद झनै तातो हुने संकेत देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे