
काठमाडौं । राहदानी विभागले आगामी ६४ लाख विद्युतीय राहदानी छपाइका लागि जर्मनीका दुई कम्पनीलाई सर्टलिस्ट गर्दै छुट्टाछुट्टै प्याकेजमा ठेक्का दिने प्रक्रिया अघि बढाएको छ।
विभागका अनुसार, प्याकेज–१ अन्तर्गत ‘प्रिइनरोलमेन्ट, इनरोलमेन्ट डाटा म्यानेजमेन्ट तथा डेलिभरी सिस्टम’ को ठेक्का जर्मनीको म्युहलबाउर आइडी सर्भिसले प्राप्त गरेको छ। यस प्याकेजको अनुमानित लागत १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ।
त्यस्तै, प्याकेज–२ अन्तर्गत राहदानी छपाइ कार्यको ठेक्का भेरिडास नामक अर्को जर्मन कम्पनीलाई दिइएको छ, जसको लागत ६ अर्ब ११ करोड रुपैयाँ छ। विभागले हालै भेरिडास कम्पनीसँग औपचारिक सम्झौता सम्पन्न गरेको जनाएको छ भने म्युहलबाउरसँगको सम्झौता छिट्टै हुने तयारीमा रहेको विभागका महानिर्देशक तीर्थ अर्यालले जानकारी दिए।
छनोट प्रक्रिया तथा ठेक्का हस्तान्तरण सन्दर्भमा अहिले कार्यरत पुरानो कम्पनी आइडिमियालाई जिम्मेवारी नदिइनुले केही विवाद उत्पन्न भएको विभाग स्रोतले जनाएको छ। फ्रेन्च कम्पनी आइडिमियाले सन् २०२० मा २० लाख राहदानी छपाइको ठेक्का पाएपछिको समयसम्म विभिन्न म्याद थप गर्दै ५० लाखभन्दा बढी राहदानी छपाइसकेको थियो।
राहदानी छपाइको सम्पूर्ण सामग्री तथा व्यवस्थापन ठेकेदार कम्पनीले नै गर्नु पर्ने बाध्यात्मक प्रावधान रहेको विभागका प्रवक्ता शत्रुध्वन पोखरेलले स्पष्ट पारे।
विभागले नयाँ सम्झौता प्रणालीमार्फत राहदानी सेवा अझ प्रभावकारी र दिगो बनाउने अपेक्षा गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे