
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा हालै सम्पन्न राष्ट्रिय पर्यटन संवाद (National Tourism Dialogue) कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुखले नेपाल नगरपालिका संघको तर्फबाट सहभागिता जनाउँदै सम्बोधन गर्नुभएको छ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा नगर प्रमुखले नेपालको सकल गार्हस्थ्य उत्पादन (GDP) मा पर्यटन क्षेत्रले पुर्याउँदै आएको योगदान, स्थानीय तहको भूमिकाको महत्त्व तथा कागेश्वरी मनोहरा नगरपालिकाभित्रका पर्यटकीय सम्भावनाहरूको बारेमा प्रकाश पार्नुभएको थियो।
उहाँले नगरपालिकाले पर्यटकीय पूर्वाधार विकास, सम्पदाको संरक्षण, र प्रवर्द्धनमा अवलम्बन गरेका नीति, योजना र कार्यक्रमहरूको संक्षिप्त जानकारी गराउँदै, स्थानिय तहले आ–आफ्ना क्षेत्रगत विशेषताअनुसार पर्यटन प्रवर्द्धनमा भूमिका खेलिरहेको उल्लेख गर्नुभयो।
नगर प्रमुखले सम्पूर्ण स्थानीय तहहरूको समन्वय, सक्रियता र साझा दृष्टिकोणमार्फत मात्रै पर्यटन क्षेत्रको दिगो विकास सम्भव हुने धारणा राख्दै राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन पर्यटनमार्फत आम्दानी वृद्धि गर्ने अवसरको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे