
भक्तपुर– भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिका वडा नं. ४ गःहिटीस्थित प्राचीन सम्पदा लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण निर्देशक समितिको बैठक बसेको थियो।
बैठकमा नगरप्रमुख प्रजापतिले सम्पदाको संरक्षणमा जनताको साथ र सहयोग महत्वपूर्ण रहेको भन्दै नयाँ पुस्तालाई उत्साहित गर्न मन्दिर पुनःनिर्माणमा आधारित ऐतिहासिक, सांस्कृतिक र खोजमूलक विषयवस्तुहरू समेटेर पुस्तक प्रकाशनको तयारी भइरहेको जानकारी दिनुभएको थियो। उहाँले प्रत्येक कामको दस्तावेजीकरण गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
बैठकमा ‘लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण २०८२’ शीर्षकमा तयार पारिएको प्रकाशन सामग्रीबारे जानकारी गराइएको थियो। साथै, मन्दिर पुनःनिर्माणमा निर्देशन समितिमा सहभागी सम्पूर्ण पदाधिकारी, उपभोक्ता समिति, स्थानीय बासिन्दा तथा आर्थिक वा भौतिक सहयोग गर्ने सबैलाई निर्देशक समितिको तर्फबाट औपचारिक धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको थियो।
नगरपालिकाका सम्पदा उपशाखा प्रमुख रामगोविन्द श्रेष्ठले मन्दिर पुनःनिर्माणको प्रगति र प्राविधिक विवरण बैठकमा प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, उपभोक्ता समिति अध्यक्ष शिवराम किजुले प्रस्तुत विवरणमा ७५० भन्दा बढी व्यक्तिहरूले श्रमदान गरेका थिए भने २२ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग र लाखौं बराबरको जिन्सी सामग्री प्राप्त भएको जनाइएको थियो।
भक्तपुर नगरपालिकाले २०७९ सालको स्थानीय तह निर्वाचन सम्पन्न भएपछि जनप्रतिनिधिहरू बहाल भएको दिनको स्मरणमा २०८२ जेठ ६ गते मन्दिरको उद्घाटन गर्ने तयारी गरेको जनाएको छ।
उक्त मन्दिरको शिलान्यास २०७८ मंसिर २८ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले गर्नुभएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे