
काठमाडौं । डिजिटल बैंकिङ सेवा तीव्र रूपमा विस्तार हुँदै गएको सन्दर्भमा नेपाल राष्ट्र बैंकले असुरक्षित इन्टरनेट नेटवर्क प्रयोग गरी गरिने कारोबारले गम्भीर वित्तीय जोखिम निम्त्याउन सक्ने भन्दै सेवाग्राहीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
केन्द्रीय बैंकले जारी गरेको सूचनामा निःशुल्क वा अनसेक्युर वाई–फाई नेटवर्कमार्फत बैंकिङ कारोबार गर्दा प्रयोगकर्ताको गोप्य विवरण अनधिकृत व्यक्तिको पहुँचमा पुग्ने जोखिम रहने उल्लेख गरिएको छ। यस्ता खुला नेटवर्कमा ह्याकर तथा वित्तीय अपराधी सक्रिय हुन सक्ने र पासवर्ड, पिन, ओटीपीजस्ता संवेदनशील सूचनाहरू चोरी भई दुरुपयोग हुन सक्ने खतरा रहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले अनलाइन बैंकिङ प्रयोग गर्दा सम्बन्धित बैंकको आधिकारिक वेबसाइट वा मोबाइल एप्लिकेसन मात्र प्रयोग गर्नुपर्नेमा जोड दिएको छ। साथै, पासवर्ड तथा पिन कोड समय–समयमा परिवर्तन गर्ने, कसैसँग पनि साझा नगर्ने र शंकास्पद गतिविधि देखिएमा तुरुन्तै बैंकलाई जानकारी गराउन आग्रह गरिएको छ।
विशेष गरी क्याफे, होटल, विमानस्थल, शपिङ मलजस्ता सार्वजनिक स्थानमा उपलब्ध इन्टरनेट नेटवर्कमार्फत विद्युतीय बैंकिङ कारोबार गर्दा जोखिम अत्यधिक हुने भन्दै सम्भव भएसम्म यस्ता नेटवर्क प्रयोग नगर्न राष्ट्र बैंकले सुझाव दिएको छ।
डिजिटल सेवा असुरक्षित हुँदा व्यक्तिगत आर्थिक क्षतिसँगै समग्र बैंकिङ प्रणालीप्रतिको विश्वास कमजोर हुन सक्ने उल्लेख गर्दै राष्ट्र बैंकले सचेत प्रयोगकर्ता नै डिजिटल सुरक्षाको पहिलो आधार भएको स्पष्ट पारेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे