
दाङ — राप्ती गाउँपालिकाले फागुन २९ गते नवौँ स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाउने तयारी गरेको छ। आइतबार सम्पन्न १७औँ कार्यपालिका बैठकले दीप प्रज्वलन, वृहत् सरसफाइ, वृक्षारोपण, साइकल दौड तथा विभिन्न संघसंस्था र व्यक्तिहरूलाई सम्मान एवं पुरस्कृत गर्ने निर्णय गरेको छ।
गाउँपालिका स्रोतका अनुसार फागुन २७ गते पालिकाका ९ वटै वडामा वृहत् सरसफाइ कार्यक्रम सञ्चालन गरिने भएको छ। त्यसैगरी, फागुन २८ गते बिहान वडा नं. ६ को मझेरियादेखि वडा नं. ३ को बसन्तपुरसम्म साइकल दौड प्रतियोगिता आयोजना गरिने तय गरिएको छ। सोही दिन विपी आधारभूत विद्यालय बसन्तपुरमा वृक्षारोपण गरिनुका साथै साँझ गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरू तथा स्वास्थ्य संस्थाहरूमा दीप प्रज्वलन गरिने बताइएको छ।
यसैबीच, फागुन २९ गते स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गर्ने निर्णय भएको छ। कार्यपालिका बैठकका निर्णयअनुसार उत्कृष्ट सामुदायिक विद्यालय, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, उत्कृष्ट कृषि सहकारी संस्था तथा समूह, पालिकाबाट सीप विकास तालिम लिएर उद्यम गरेका उत्कृष्ट उद्यमी, सबैभन्दा बढी व्यवसाय कर तिर्ने व्यवसायी तथा समाजमा उल्लेखनीय योगदान दिएका दिवंगत व्यक्तित्वहरूलाई मरणोपरान्त सम्मान गरिने छ।
त्यस्तै, खोज पत्रकारितामा योगदान गर्ने पत्रकारहरू तथा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई पनि सम्मान गरिने भएको छ।
यसका लागि पालिकाले उपाध्यक्ष कमलापति चौधरीको संयोजकत्वमा सात सदस्यीय “पुरस्कार तथा सम्मान छनोट तथा सिफारिस कार्यदल” गठन गरेको छ। समितिमा प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक पहलवान चौधरी, आर्थिक विकास समितिका संयोजक गेमे खड्का, पूर्वाधार विकास समितिका संयोजक वीरबहादुर चौधरी, सुशासन तथा संस्थागत विकास समितिका संयोजक देवप्रसाद चौधरी, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका सदस्य सावित्री चौधरी तथा प्रशासन शाखा प्रमुख विकास ज्ञवाली सदस्य सचिवका रूपमा रहेका छन्।
यस पटकको स्थापना दिवस भव्य रूपमा मनाउने तयारी गरिए पनि स्थानीय तहको सीमित स्रोतसाधन र बजेट व्यवस्थापन चुनौतीका रूपमा रहेको कतिपय सरोकारवालाले बताएका छन्। गाउँपालिकाले यस्ता कार्यक्रमहरूलाई कसरी दिगो बनाउने भन्नेमा समेत ध्यान दिनुपर्ने सुझाव स्थानीयस्तरबाट उठ्न थालेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे