
काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्ष पदमा रञ्जिता श्रेष्ठ नै आधिकारिक रहेको निर्वाचन आयोगले निर्णय गरेको छ। आयोगले आज सार्वजनिक गर्ने भनिएको निर्णय अनुसार, पार्टीको राष्ट्रिय भेलाले सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएर पेस गरेको विवरणलाई आयोगले वैधानिक नठहर्याएपछि श्रेष्ठ नै अध्यक्ष रहने भएकी हुन्।
निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार, राजनीतिक दलसम्बन्धी ऐन र नाउपाको विधानअनुसार सो भेला वैधानिक नदेखिएकोले चौधरीको अध्यक्षता मान्य नहुने ठहर गरिएको हो।
यसअघि पार्टी संरक्षक रेशम चौधरी पक्षका बहुमत केन्द्रीय सदस्यहरूको बैठकमार्फत श्रेष्ठलाई अध्यक्ष पदबाट हटाइएको घोषणा गरिएको थियो। सो निर्णयअनुसार श्रेष्ठलाई पार्टीको सामान्य सदस्यसमेत नरहने गरी हटाइएको उल्लेख गरिएको थियो।
तर आयोगको निर्णयसँगै श्रेष्ठ पुनः आधिकारिक अध्यक्षका रूपमा रहने स्पष्ट भएको छ। आयोगको निर्णयले पार्टीभित्रको आन्तरिक विवाद थप चुलिन सक्ने अनुमान गरिएको छ।
निर्वाचन आयोगले यस सम्बन्धी थप जानकारी आजै औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे