
काठमाडौं ।बागमती प्रदेशका नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको प्रदेशस्तरीय भेला आजदेखि सुरु भएको छ। ललितपुरको गोदावरीमा आयोजित सो भेला आइतबार बिहान ११ बजे प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
दुई दिनसम्म सञ्चालन हुने भेलामा बागमती प्रदेशका १० जिल्लाबाट निर्वाचित ३५९ जना वडाध्यक्षहरूको सहभागिता रहनेछ।
कार्यक्रमले पार्टी संगठन सुदृढीकरण, स्थानीय तहमा नीति तथा कार्यक्रमको कार्यान्वयन, विकास योजना समन्वय र जनतासँगको सम्बन्ध विस्तारलगायत विषयमा गहिरो छलफल गर्ने उद्देश्य राखेको छ।
एमालेले स्थानीयस्तरमा निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको केन्द्रीय नीति, कार्यक्रम र रणनीतिसँग अवगत गराउँदै आगामी गतिविधिमा सक्रिय बनाउने लक्ष्यका साथ यस्तो भेला आयोजना गरेको बताइएको छ।
भेलामा शीर्ष नेताहरूको कार्यपत्र प्रस्तुतिसँगै अन्तरक्रियात्मक सत्र पनि सञ्चालन हुने कार्यक्रम संयोजकहरूले जानकारी दिएका छन्।
यसले वडास्तरमा एमालेको सांगठनिक संरचना बलियो बनाउन र आगामी निर्वाचनका लागि तयारी थालनी गर्ने सन्देश दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे