
भक्तपुर — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चुरोट र रक्सीको मूल्यमा तीव्र वृद्धि गर्ने प्रस्ताव सार्वजनिक गरेका छन्। उनका अनुसार चुरोटको प्रतिखिल्ली मूल्य हालको रु १० बाट रु ३० र रक्सीको प्रति बोतल मूल्य रु १,००० बाट रु ३,००० पुर्याउने तयारी गरिएको छ।
सोमबार भक्तपुरस्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल, मध्यपुर थिमीको १७औं स्थापना दिवस समारोह तथा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले उक्त प्रस्ताव सार्वजनिक गरेका हुन्। उनले जनस्वास्थ्यमा पार्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै नशालु पदार्थहरूको प्रयोग नियन्त्रण गर्न मूल्यवृद्धि आवश्यक रहेको धारणा व्यक्त गरे।
“स्वास्थ्य बिगार्ने वस्तुहरूको उपभोग घटाउन मूल्यवृद्धि प्रभावकारी उपाय हो,” मन्त्री पौडेलले भने, “चुरोट ३० रुपैयाँ र रक्सी ३,००० रुपैयाँ बनाउँदा त्यसबाट संकलित राजस्वलाई स्वास्थ्य बीमा र अन्य जनकल्याणकारी कार्यक्रमहरूमा खर्च गर्न सकिन्छ।”
उनले चुरोट तथा रक्सीबाट संकलन हुने अतिरिक्त राजस्वलाई निःशुल्क उपचार सेवा, स्वास्थ्य बीमा कार्यक्रम र ग्रामीण स्वास्थ्य पूर्वाधार विकासमा प्रयोग गरिने बताएका छन्। साथै, मन्त्री पौडेलले नेपालमा गैर-संक्रामक रोगहरूको बढ्दो चुनौतीलाई ध्यानमा राख्दै रोग रोकथाममुखी नीतिहरूको आवश्यकता औंल्याए।
सरकारको यो प्रस्तावले सार्वजनिक स्वास्थ्य सुधारमा दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ, यद्यपि मूल्यवृद्धिसँगै संभावित सामाजिक तथा आर्थिक असरबारे पनि व्यापक बहस हुने सम्भावना छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे