
काठमाडौं। देशको प्रमुख लाइफलाइन मानिने पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडकखण्डमा खसेका सबै पहिरो पन्छाइएका छन्। तर, राजमार्गमा राति खसेका पहिरोका कारण रोकिएका सवारी साधनहरूको अत्यधिक चाप कायम छ, जसका कारण सडकमा लामो लाइन देखिएको छ।
मंगलबार राति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। तत्कालै डोजर परिचालन गरी राति नै पहिरो हटाइए पनि सवारी साधनहरूको भीड कम भएको छैन। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सडकमा अड्किएका सयौं सवारी साधन एकैपटक अघि बढ्न खोज्दा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ।
यस्तै, मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला नजिक खसेको ठूलो पहिरो हटाउने कार्य अझै जारी छ। बुधबार साँझ परेको वर्षाले केही समयका लागि काम रोकिए पनि बिहीबार बिहानैदेखि डोजरमार्फत पहिरो पन्छाउने प्रयास भइरहेका छन्। स्थानीय बासिन्दा र यात्रुहरूलाई तत्काल वैकल्पिक मार्ग प्रयोग गर्न कठिनाइ भएकाले सवारी साधनहरू बाटैमा थुनिन बाध्य भएको देखिन्छ।
भरतपुर सडक डिभिजन कार्यालयका अनुसार तुइन खोलामा खसेको ठूलो पहिरो पूर्ण रूपमा पन्छाउन कम्तीमा दुई दिन लाग्ने अनुमान गरिएको छ। यस अवधिमा राजमार्गमा यात्रा गर्ने यात्रुलाई विशेष सतर्कता अपनाउन र अत्यावश्यक बाहेकको यात्रा नगर्न आग्रह गरिएको छ।
राजमार्ग अवरुद्ध हुँदा राजधानी काठमाडौं र तराई तथा पश्चिम क्षेत्रबीचको यातायात प्रणालीमा ठुलो असर परेको छ। खाद्यान्न, इन्धन र दैनिक उपभोग्य वस्तुको ढुवानीमा पनि असुविधा देखिन थालेको व्यापारीहरूको भनाइ छ। सरकारको पहलमा तत्कालै डोजर र प्राविधिक टोली परिचालन गरिए पनि मौसम र भौगोलिक कठिनाइका कारण पहिरो पन्छाउने कार्यमा ढिलाइ भइरहेको छ।
सडक डिभिजन कार्यालयले भने सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रु तथा चालकलाई सचेत रहन आग्रह गरेको छ। वर्षा अझै केही दिन जारी रहने मौसमविद्हरूको अनुमानले थप चुनौती सिर्जना गर्ने देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे