
काठमाडौँ, साउन ४ — आजदेखि देशका धेरै ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमानपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकहरूलाई अत्यावश्यक काम बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अपिल गर्नुभएको छ।
मौसम विभागले दिउँसोदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै सबैलाई सतर्क रहन भनेको छ। त्यसकै आधारमा प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै सुरक्षित रहन आग्रह गर्नुभएको हो।
उहाँले सम्भावित बाढी, डुबान र पहिरोको जोखिम भएकाले सुरक्षा निकाय, संघ, प्रदेश र स्थानीय सरकारहरूलाई सतर्क रहन निर्देशन दिनुभएको छ।
यसअघि विपद् जोखिम न्यूनीकरण प्राधिकरणले साउन ३ गते रातिदेखि ५ गतेसम्म धेरै ठाउँमा अत्यधिक वर्षा हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिसकेको थियो।
केही ठाउँमा पहिरो खस्दा बाटोहरू बन्द भएका छन् भने जनजीवन प्रभावित बनेको छ। सेना, प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकहरू तयारी अवस्थामा राखिएको सरकारको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे