
काठमाडौं, जेठ ११ – नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गते काठमाडौंमा हुने राजावादी आन्दोलनलाई लक्षित गर्दै पार्टी कार्यकर्तालाई दिनको ११ बजेदेखि २ बजेसम्म काठमाडौं पूर्ण रूपमा एमालेको नियन्त्रणमा ल्याउन निर्देशन दिएका छन्।
आइतबार एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादीहरूले सार्वजनिक रूपमा घोषणा गरेको आन्दोलनमा हस्तक्षेप गर्न आवश्यक तयारी गर्न कार्यकर्तालाई आह्वान गरे।
“१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ,” ओलीले भने, “कुन संस्थाले अगुवाइ गर्छ भन्नेमा नअल्झिनुहोस्, आवश्यक निर्देशन पार्टीले पछि दिन्छ।”
प्रधानमन्त्री ओलीले वडाध्यक्षहरूलाई प्रशिक्षण सकिएलगत्तै आन्दोलनका लागि तयारी थाल्न आग्रह गर्दै भने, “प्रशिक्षण सकिएपछि १५ गतेका लागि जुट्नुपर्छ। जे गर्नुपर्छ त्यसका लागि तयार बस्नुस्।”
उनले आन्दोलनमा कुनै औपचारिक प्रोटोकल लागु नहुने स्पष्ट पारे। “सभा, बैठकको प्रोटोकलको कुरा आन्दोलनमा हुँदैन। आन्दोलन भनेको एउटै दिशामा सिंगो शक्तिको प्रदर्शन हो,” प्रधानमन्त्री ओलीले भने।
राजावादी आन्दोलनप्रति आलोचनात्मक धारणा राख्दै उनले ती समूहहरू कुनै महान उद्देश्यका लागि नभई व्यक्तिगत स्वार्थका लागि सक्रिय रहेको आरोप लगाए।
“राजावादीहरू सरकार र जनताको मौनतालाई फाइदा उठाएर अनावश्यक फूर्तिफार्ति देखाइरहेका छन्। उनीहरू कुनै उच्च उद्देश्यका लागि लडिरहेका छैनन्,” ओलीले टिप्पणी गरे।
उनले पार्टी कार्यकर्तालाई आत्मचिन्तन गर्न र रणनीतिक रूपमा तयारी अवस्थामा रहन आग्रह गरे। “१५ गतेको तयारी भोलि बिहानैदेखि सुरु गर्नुस्, के गर्नुपर्छ भन्ने कुरा पार्टीले निर्देशनमार्फत स्पष्ट पार्नेछ,” उनले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे