
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने निर्वाचनलाई सबै नेपालीले एक राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने बताएकी छिन्। छठ पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले सबै पक्षलाई चुनाव सफल बनाउन एकजुट हुन आग्रह गरेकी हुन्।
उनले भनिन्, “चुनाव हाम्रो साझा जिम्मेवारी हो। यसलाई राष्ट्रिय अनुष्ठानका रूपमा मनाउँदै सबैले सहभागिता जनाउनुपर्छ।” जेनजी आन्दोलनपछि देशमा सिर्जना भएको अवस्थालाई सामान्य बनाउन र प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबैले आफ्नो जिम्मेवारी बोध गर्नुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्री कार्कीले “सडक प्रदर्शन मात्र समस्याको समाधान होइन” भन्दै असन्तुष्टि भए पनि शान्तिपूर्ण ढङ्गले जनमतमार्फत समाधान खोज्न लोकतान्त्रिक बाटो उत्तम हुने बताइन्।
उनले छठजस्ता चाडपर्वले देशका विभिन्न समुदायबीच एकता, सद्भाव र भ्रातृत्व बलियो बनाउने उल्लेख गरिन्। प्रधानमन्त्रीले नेपाली समाजमा शान्ति, प्रेम र खुशी फैलियोस् भन्ने शुभकामना दिँदै छठ पर्वले तराई–पहाड जोड्ने सांस्कृतिक सेतुको भूमिका निभाइरहेको बताइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे