
काठमाडौं, माघ १८ । संघीय संसदको हिउँदे अधिवेशन आजबाट सुरु भएको छ। संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे पहिलो बैठक बस्ने छ।
यस अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख नेताहरूले सम्बोधन गर्नेछन्। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए अनुसार, बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान पत्र र प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको विवरण प्रस्तुत गर्नेछन्।
सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नेछन्। त्यसपछि दलीय आधारमा सदस्यहरू आफ्ना मन्तव्य राख्नेछन्।
आजको बैठकमा ६ वटा अध्यादेश प्रस्तुत हुनेछन्। यीमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ प्रस्तुत गर्नेछन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्नेछन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
विपक्षी दलहरूले सरकारद्वारा प्रस्तुत गरिएका यी अध्यादेशहरूको विरोध गर्ने निर्णय गरेका छन्।
बैठकमा शोक प्रस्ताव र विभिन्न समितिहरूको प्रतिवेदन प्रस्तुत हुने सम्भावना पनि छ। राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक, २०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पनि प्रस्तुत हुनेछ।
संघीय निजामती, विद्यालय शिक्षा र प्रहरी समायोजन जस्ता महत्वपूर्ण विधेयकहरू अहिले संसदमा विचाराधीन छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे