
काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमाले नेतृ विद्यादेवी भण्डारीले पार्टीले तोकेको भूमिकाअनुसार पार्टीको विधान महाधिवेशनमा सहभागी हुने स्पष्ट संकेत गरेकी छन्। शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई पार्टी नेतृत्वले जुन जिम्मेवारी दिनेछ, त्यसअनुसार सक्रिय सहभागी रहने बताइन्।
“मलाई माथिल्लो तहले जुन भूमिका दिनुहुन्छ, म त्यसअनुसार सहभागी हुनेछु,” पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “पार्टीको निर्णयलाई म सम्मान गर्छु।” उनले पार्टीले प्रतिनिधिको रूपमा सहभागी गराउने कि आमन्त्रित सदस्यको रूपमा भन्ने निर्णय केन्द्रीय कमिटीको हातमा रहेको स्पष्ट पारिन्।
यसैबीच, नेकपा एमालेका दिवंगत महासचिव तथा विचारक मदन भण्डारीको ७५औँ जन्मजयन्ती (हीरक जयन्ती) भव्य रूपमा मनाउने तयारी स्वरूप मूल समारोह समिति गठन गरिएको छ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा ७५ सदस्यीय समिति बनाइएको हो।
समिति गठनको घोषणा मदन भण्डारी फाउन्डेसनले मंगलबार आयोजना गरेको कार्यक्रममा गरिएको हो। फाउन्डेसनका अनुसार आवश्यक परेमा सदस्य थप गरिनेछ। कार्यक्रमका क्रममा फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले छिट्टै सल्लाहकार समिति पनि गठन गरिने जानकारी दिइन्।
समितिको घोषणा कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी पनि सहभागी थिइन्। यो उपस्थितिलाई उनका समर्थकहरूले एमाले राजनीतिमा भण्डारीको सक्रिय पुनरागमनको संकेतका रूपमा हेरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे