
काठमाडौँ, २४ पौष – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कमजोर पार्न र सिध्याउन शान्ति प्रक्रियालाई प्रयोग गरिएको आरोप लगाएका छन्। बुधबार आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा उनले शान्ति प्रक्रियाका बाँकी कार्यहरू राजनीतिक कारणले कठिन बनेको बताए। उनले स्पष्ट पारे, “टुंग्याउन कठिन भएको राजनीतिक कारणले नै हो, यहाँ कुनै कन्फ्युजन हुनु पर्ने छैन।”
प्रचण्डले नेकपा (एमाले)लाई लक्षित गर्दै भने, शान्ति प्रक्रियालाई माओवादीलाई कमजोर पारेर मात्र टुंग्याउने प्रवृत्ति अझै रहेको छ। उनले आरोप लगाए कि शान्ति प्रक्रिया टुंगिन लाग्दा रोक्नका लागि कुनै न कुनै कारण अघि बढाइन्छ।
बेपत्ता व्यक्तिको छानबिन र मेलमिलाप आयोगसम्बन्धी तेस्रो संशोधन विधेयक २०८१ संसद्बाट पारित भए पनि कार्यान्वयनमा अवरोध रहेको बताए। यसलाई माओवादीलाई कमजोर बनाउने अन्तिम हतियारको रूपमा प्रयोग भइरहेको उनले दाबी गरे।
प्रचण्डले चेतावनी दिए कि पीडितले सडकमा दबाब नदिए शान्ति प्रक्रिया लामो समयसम्म अलमलमा पर्नेछ, तर शान्तिपूर्ण दबाबले प्रक्रिया छिट्टै टुंग्याउन सकिन्छ। उनले शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउन प्रमुख नेतासँग छलफल गर्ने योजना पनि सार्वजनिक गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे