
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफू रुकुमपूर्वबाट चुनाव लड्ने करिब पक्का भएको बताएका छन्। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१ बराहाटाकुरामा आयोजित एकता सन्देश सभामा बोल्दै उनले रुकुमका जनताको सुख–दुःखमा साथ दिन र काँधमा काँध मिलाएर अघि बढ्न रुकुमबाटै चुनाव लड्ने निर्णयमा पुगेको बताए।
पार्टी एकतापछि पहिलोपटक आयोजित सभामा प्रचण्डले रुकुमको विकासलाई नयाँ ढंगले अघि बढाउने चाहना व्यक्त गरे। उनले रुकुमपश्चिम पुगेकै अवसरमा पूर्व माओवादी नेता जनार्दन शर्माले पार्टी र कम्युनिस्ट विचारलाई धोका दिएको आरोप लगाए। जनार्दनले गल्ती गरेकाले गोपाल शर्मालाई उम्मेदवार बनाइएको र उनी पार्टीको विचार र सिद्धान्त पूरा गर्न सक्षम नेता भएको प्रचण्डको भनाइ थियो।
प्रचण्डले रुकुमका जनता पार्टीप्रति अझ जिम्मेवार बनेको र गलत बाटो लाग्नेहरूको पछि नलागेको बताए। जनयुद्ध र जनआन्दोलनमा रुकुमेलीको ठूलो योगदान रहेको उल्लेख गर्दै उनले अहिले पनि पार्टी र नेतृत्वको साथमा रुकुम उभिएको दाबी गरे।
सभामा सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकताले देशभर आशा र उत्साह बढाएको बताए। उनले परिवर्तन चाहने शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे