
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताबीच पहिलोपटक औपचारिक छलफल हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा आज मंगलबार हुने यो बैठक जेन–जी आन्दोलनपछिको पहिलो सामूहिक राजनीतिक संवादका रूपमा हेरिएको छ।
राष्ट्रपति पौडेलले नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेतृत्वसँग हुने छलफलमा प्रधानमन्त्री कार्कीलाई पनि सहभागी हुन आमन्त्रण गरेका हुन्। राष्ट्रपति सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे राष्ट्रपति भवनमा आयोजना गरिएको छ।
छलफलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन्। पछिल्लो राजनीतिक घटनाक्रम, जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थिति र भावी राजनीतिक सहकार्यका विषयमा छलफल केन्द्रित हुने अपेक्षा गरिएको छ।
यस बैठकलाई वर्तमान राजनीतिक गतिरोध कम गर्ने, संवादको वातावरण सिर्जना गर्ने र प्रमुख दलहरूबीच सहमति खोज्ने प्रयासका रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे