
काठमाडौँ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१ हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा मौसम प्रतिकूल भए दोस्रो चरणमा निर्वाचन हुने सम्भावनाबारे जानकारी दिनुभयो।
प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरूसँगको कुराकानीमा बताउनुभयो कि “निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्नेछ। हिमाली जिल्लामा मौसम अनुकूल नभएमा मतदान दोस्रो चरणमा गरिनेछ।” उहाँले कम मतदाता भएका क्षेत्रमा सवारी साधनमार्फत मतदानको सुविधा उपलब्ध गराएर पनि निर्वाचन सम्पन्न गराउने तयारी रहेको स्पष्ट गर्नुभयो।
प्रधानमन्त्री कार्कीले थप भन्नुभयो, “अहिलेसम्म कुनै कारणले निर्वाचन स्थगित गर्ने अवस्था आएको छैन। ढुक्कका साथ फागुन २१ गतेको निर्वाचनमा सबैले सक्रिय सहभागी हुनुपर्छ। समयमै निर्वाचन सम्पन्न भएपछि नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हालेर देशलाई नयाँ दिशातर्फ अगाडि बढाउनेमा म विश्वस्त छु।”
उहाँले यसैबीच शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारले शत प्रतिशत प्रयास गरिरहेको बताए। विशेष परिस्थितिका बावजुद निर्वाचनमा केही चुनौती आइपरे पनि समाधान गर्दै मतदान सम्पन्न गरिने प्रधानमन्त्री कार्कीको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे