
एजेन्सी। फिलिपिन्सको मिन्डानाओ क्षेत्रको तटमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र पलाउका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ। प्यासिफिक सुनामी चेतावनी केन्द्रका अनुसार फिलिपिन्सका केही तटमा सुनामीको छाल सामान्य ज्वारभाटाभन्दा ३ मिटर (१० फिट) माथि पुग्न सक्ने अनुमान गरिएको छ। इन्डोनेसियाको उत्तरी सुलावेसी र पपुवा, साथै पलाउका तटीय क्षेत्रमा भने एक मिटर उचाइसम्मको छाल आउन सक्ने सम्भावना छ।
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थाले प्रभावित प्रान्तका तटीय बासिन्दालाई उच्च स्थानतर्फ सारिन र डुङ्गा मालिकलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ। संस्थाले समुद्रमा रहेका डुङ्गाहरूलाई अर्को सूचना नआएसम्म गहिरो पानीमै रहन सुझाव दिएको छ। डाभाओ ओरिएन्टल प्रान्तका गभर्नर एडविन जुबाहिबका अनुसार भूकम्पको झट्काले मानिसहरूमा भगदड मच्चिएको र केही भवनमा क्षति पुगेको छ। उनले यसलाई ‘धेरै शक्तिशाली भूकम्प’ भएको बताए।
यसअघि गत सातामा मात्रै सेबु प्रान्तको बोओग सहरमा ७.० म्याग्निच्युडको भूकम्प जाँदा ७४ जनाको मृत्यु र ५०० भन्दा बढी घाइते भएका थिए। लगातारका प्राकृतिक प्रकोपले फिलिपिन्सलाई थप जोखिममा पारेको छ। टाइफून र भूकम्पको प्रकोपसँगै देश हालै सुपर टाइफून रागसा र आँधी बुआलोइबाट पनि प्रभावित भएको थियो। बुआलोइले कम्तीमा ११ जनाको मृत्यु र लाखौँ विस्थापित पारेको थियो भने सन् २०१२ मा टाइफून बोफाले सयौँको ज्यान लिएको इतिहास रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे