
काठमाडौँ। नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको छ। नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्यसूची सार्वजनिक गर्दै मूल्य बढाएको जनाएको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गरिएको हो। नयाँ दरअनुसार अब पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १५२ रुपैयाँमा बिक्री हुनेछ।
निगमले जनाएअनुसार भारतबाट प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोलको मूल्य ३१ रुपैयाँ, डिजेल तथा मट्टितेल ५४ रुपैयाँ र ग्यास २१६ रुपैयाँले बढेर आएको थियो। तर उपभोक्तामा अत्यधिक आर्थिक भार नपरोस् भन्ने उद्देश्यले निगमले पूर्ण वृद्धि उपभोक्तामा नथोपरी आंशिक रूपमा मात्रै मूल्य समायोजन गरेको हो।
पश्चिम एशियामा बढ्दो भू–राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढ्दै गएको छ। सोही कारण भारतमार्फत आयात हुने पेट्रोलियम पदार्थको मूल्य पनि महँगिएको छ, जसको प्रभाव नेपालमा समेत परेको हो।
यद्यपि निगमले मूल्य स्थिरीकरण कोष र विगतमा भएको नाफाको केही हिस्सा प्रयोग गर्दै उपभोक्तामा पर्ने प्रभाव कम गर्ने प्रयास गरेको जनाएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्यमा आउने उतारचढावका आधारमा आगामी दिनमा मूल्य पुनः समायोजन हुन सक्ने सम्भावना पनि रहेको छ।




सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे