
काठमाडौं। भगवान श्री पशुपतिनाथको मन्दिर तथा पावन पाशुपत क्षेत्र प्राचीनकालदेखि विश्वभरका सनातन हिन्दुहरूको आस्था र श्रद्धाको केन्द्रका रूपमा परिचित रहँदै आएको छ। पशुपति क्षेत्र, जयबागेश्वरी, गौरीघाट, चाबहिल, कुटुम्बहाल, सिफल, गौशाला, पिंगलास्थान तथा श्लेषमान्तक वन आसपासका २६४ हेक्टर क्षेत्रलाई समेटेर निर्माण गरिएको यस क्षेत्रभित्र करिब ५०० भन्दा बढी मठ मन्दिर, सत्तल, ढुङ्गेधारा, चैत्य तथा देवालय रहेका छन् भने करिब १ हजार शिवलिङ्ग अवस्थित छन्। यिनै सम्पदाको संरक्षण, सम्भार र व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ अनुसार कोषको स्थापना गरिएको हो।
तर, कोषअन्तर्गत गुठी जग्गाको अभिलेख व्यवस्थापनमा गम्भीर कमजोरी देखिएको छ। उपलब्ध विवरणअनुसार कुल ५ हजार ६० रोपनी गुठी जग्गामध्ये २३१ रोपनी १० आना १ पैसा जग्गा अझै दर्ता हुन बाँकी रहेको छ भने १ हजार १६१ रोपनी १४ आना ३ पैसा जग्गा सम्झौताअनुसार त्रिभुवन विमानस्थलले प्रयोग गरिरहेको छ। यसबाहेक पशुपति क्षेत्रभित्रका विभिन्न गुठी, मन्दिर तथा देवालयअन्तर्गत १० हजार १९ रोपनी १५ आना १ पैसा तथा महास्नान पोता गुठीअन्तर्गत १ हजार २४१ रोपनी १ आना २ पैसा गरी कुल ११ हजार २६१ रोपनी ३ पैसा जग्गा गुठी संस्थान मातहत रहेको छ।
यद्यपि, कोषले यी सबै गुठी जग्गाको अद्यावधिक र एकीकृत अभिलेख तयार गर्न नसकेको पाइएको छ। पशुपति क्षेत्रभित्र रहेका १९५ राजगुठी, निजी तथा छुट गुठीसम्बन्धी सम्पूर्ण विवरण व्यवस्थित नभएकाले जग्गाको यथार्थ स्थिति निर्धारण तथा संरक्षणमा चुनौती देखिएको छ।
यसैबीच आन्तरिक आम्दानी व्यवस्थापनतर्फ पनि त्रुटि देखिएको छ। आ.ब २०८०।८१ अनुसार,आर्थिक प्रशासन नियमावली, २०४५ अनुसार प्राप्त हुने नगद आम्दानी सोही दिन वा भोलिपल्टसम्म खातामा दाखिला गर्नुपर्ने व्यवस्था भए पनि चालु वर्षको ७५ करोड ३६ लाख ८ हजार आम्दानीमध्ये २२ लाख २५ हजार रुपैयाँ स्रेस्तामा उल्लेख भए तापनि बैङ्क खातामा दाखिला भएको पाइएन।
यसरी आम्दानी देखाएर खातामा जम्मा नगर्ने कार्यमा संलग्न कर्मचारीलाई जिम्मेवार बनाउँदै उक्त रकम असुल गरी कोषमा दाखिला गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। साथै गुठी सम्पत्तिको यथार्थ अभिलेख तयार गरी दीर्घकालीन संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउनु अपरिहार्य देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे