
काठमाडौं । संसदको लगातार जारी अवरोधलाई अन्त्य गर्ने उद्देश्यले सभामुख देवराज घिमिरेले प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूसँग विशेष छलफल गरेका छन्।
सोमबार बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सम्पन्न उक्त छलफलमा संसदमा देखिएको गतिरोध समाधान गर्न सहमतिका उपायहरूबारे गहन कुराकानी भएको हो।
हाल संसद अवरुद्ध हुनुको मूल कारण गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणसम्बन्धी छानबिनको माग हो। यसबारे माओवादी केन्द्र र केही अन्य विपक्षी दलहरूले संसद चल्न नदिएको थिए। यद्यपि माओवादी केन्द्रसँग प्रारम्भिक सहमति नजिकिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा लगायतले गृहमन्त्रीमाथि छानबिन नभएको भन्दै अवरोध कायम राखेका छन्।
यसै सन्दर्भमा सभामुख घिमिरेले दलहरूसँग संवाद गरेर संसदको नियमित कार्यसूची अगाडि बढाउने प्रयास गरेका हुन्। छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया र उपसभामुख इन्दिरा राना मगर पनि सहभागी थिए।
बैठकमा प्रमुख सचेतकहरूका तर्फबाट एमालेका महेशकुमार बर्तौला, कांग्रेसका श्यामकुमार घिमिरे, माओवादी केन्द्रका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र राप्रपाका ज्ञानबहादुर शाही सहभागी थिए।
सभामुख घिमिरेले आज बिहान पनि रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग बालुवाटारस्थित सरकारी निवासमा छुट्टै छलफल गरेका थिए। तर, त्यस बैठकले ठोस सहमति नदिएपछि प्रमुख पाँच दललाई एकैसाथ डाकेर औपचारिक वार्ता गरिएको हो।
सभामुखको यो पहलबाट संसद अवरोधको समाधान खोज्ने प्रयास पुनः गति लिएको देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे