
काठमाडौँ, सातौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला सशक्तीकरणको मूल आधारको रूपमा आर्थिक स्वतन्त्रताको आवश्यकतामाथि जोड दिएका छन्।
एक शुभकामना सन्देशमार्फत उपराष्ट्रपति यादवले लैङ्गिक समानता, महिला सशक्तीकरण र महिलाप्रति हुने हिंसा, विभेद तथा असमानताका विरुद्ध दृढ अठोट लिने अवसरका रूपमा यो दिवसलाई लिनुपर्ने आवश्यकता औँल्याए।
“महिला सशक्तीकरणका लागि शिक्षा तथा सीप विकास, आर्थिक स्वतन्त्रता, राजनीतिक सहभागिता, महिला नेतृत्व र उद्यमशीलता, कानुनी सुधार, स्वास्थ्य तथा प्रजनन अधिकार जस्ता विषयहरूलाई अनिवार्य शर्तका रूपमा अवलम्बन गर्नु जरुरी छ,” उपराष्ट्रपतिले उल्लेख गरेका छन्।
उनले संविधानमा सुनिश्चित लैङ्गिक समानताको प्रावधानको कार्यान्वयन र सामाजिक चेतनाको विकासमा राष्ट्रिय महिला अधिकार दिवसले उल्लेखनीय योगदान पुर्याउँदै आएको विश्वास व्यक्त गरे।
उपराष्ट्रपतिका अनुसार महिलाहरूलाई आफ्ना अधिकारबारे जानकारी दिनु, उनीहरूको शिक्षा, नेतृत्व र आर्थिक अवसरमा सहभागिता सुनिश्चित गर्नुका साथै बालविवाह, दाइजो र लैङ्गिक हिंसाजस्ता कुप्रथाको अन्त्यका लागि सामुदायिक एकताको खाँचो रहेको वर्तमान सन्दर्भमा झन् बढेको छ।
उनले सरकार र सरोकारवाला निकायहरूलाई प्रभावकारी नीति निर्माण र कार्यान्वयनमार्फत महिला अधिकारको प्रत्याभूति गराउन आह्वानसमेत गरेका छन्। यसरी मात्र महिला अधिकार दिवसको सार्थकता स्थापित हुन सक्ने उपराष्ट्रपति यादवको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे