
काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) को साधारण सभा सोमबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि, पूर्व परराष्ट्र मन्त्री र नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले एनआरएनए को नेपालका लागि महत्वपूर्ण भूमिका रहेकोमा विश्वास व्यक्त गरे। उनले विदेशमा रहेका नेपालीहरूको अभियानलाई विचलनबाट बचाउन र देशको विकासमा योगदान दिनका लागि सहमतिको आवश्यकताको जोड दिएका छन्।
डा. महतले एनआरएनए का सदस्यहरूलाई पार्टीगत चङ्गुलबाट माथि उठेर देश र जनताको सेवामा योगदान पुर्याउन आह्वान गरे। उनले नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन एनआरएनए को भूमिका विशेष महत्त्वपूर्ण हुने उल्लेख गर्दै, “यो संस्थामा बसेर नेपालको विकासमा कसरी योगदान पुर्याउन सकिन्छ भन्ने सोच राखेर काम गर्नु पर्छ,” भने। उनले संस्थामा एकता र सहकार्यका आधारमा मात्र सफलता प्राप्त गर्न सकिने धारणा व्यक्त गरे।
नेकपा माओवादीका उप महासचिव र पूर्व गृह मन्त्री शक्ति बस्नेतले नेपालको सामाजिक र सांस्कृतिक विविधतालाई यसको प्रमुख पूँजीको रूपमा व्याख्या गरे। उनले परराष्ट्र मन्त्रालयको पहलमा आयोजना हुन लागेको बैठकलाई एकताको मार्गमा अघि बढ्नका लागि सकारात्मक कदमको रूपमा मूल्याङ्कन गरेका छन्।
एनआरएनए आइसीसीका अध्यक्ष आरके शर्माले ११औं महाधिवेशनको क्रममा संस्थामा एकता स्थापना गर्न नसकेको विषयमा दुःख व्यक्त गरे। शर्माले नेपाल सरकारको सह महान्यायाधिवक्ता नेतृत्वको समितिले निर्वाचन प्रक्रिया त्रुटिपूर्ण भएको प्रमाणित गरेको बताउँदै, संघका मुख्य मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।
संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाले एनआरएनए भित्र व्यक्तिगत स्वार्थको प्रभाव बढेको र यसलाई समाप्त गर्न संस्थाका सबै सदस्यहरूलाई आग्रह गरे। थापाले नेपाली भाषा, साहित्य, र संस्कृतिको प्रवर्द्धनमा एनआरएनए को महत्वपूर्ण योगदान रहेकोमा जोड दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे