
काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रेको पनौतीमा बाढी, डुबान र पहिरोबाट प्रभावित ४०१ परिवारका लागि राहत वितरण गरेको छ। संघको केन्द्रको आह्वानमा र राष्ट्रिय परिषद यूकेको आर्थिक सहयोगमा खाद्य सामाग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स जस्ता आवश्यक सामाग्रीहरु वितरण गरिएको हो।
स्थानीय तहसँगको समन्वयपछि राहत वितरण कार्य सम्पन्न भएको जानकारी गराइएको छ। यसमा वडा नम्बर १ का १२३, २ का ५३, ३ का २५ र वडा नम्बर १२ का २०० परिवार समावेश गरिएको छ।
यसअघि संघले अविरल वर्षासँगै आएको बाढी, डुबान र पहिरो प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो। यस घोषणाअनुसार एनसीसी यूकेले १५ लाख रुपैयाँको सहयोग प्रदान गरेको छ। हालै, संघले दक्षिणकाली र सिस्नेरीमा पनि राहत वितरण गरेको थियो। यस्तै, बुधबार ललितपुरको ठोस्नेखोलामा पनि राहत वितरणको तयारी गरिएको छ। संघले तराईका विभिन्न जिल्लामा राहत वितरणका लागि स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ।
संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको टोलीमा उपाध्यक्ष रामशरण सिम्खडा, रोजिना प्रधान राई, युवा संयोजक सुपेन्द्र घिसिङ, अमेरिका क्षेत्रका महिला डिआरसी इन्दिरा त्रिपाठी, मनार्थ सदस्य यदुराज पन्थी, आइसीसी सदस्य हेमन्त काफ्ले, राजकुमार थापा, सल्लाहकार गोबिन्द गौतम, एनआरएन अभियन्ता समिरा केसी, स्वयम्भूराज डंगोल र प्रदीप खनाल समेतका सदस्यहरू रहेका थिए।
संघले दैवी प्रकोप उद्दार कोषमा आर्थिक सहयोग गर्ने निर्णय पनि गरिसकेको छ। यसरी, संघले प्राकृतिक विपद्को बेलामा सहयोग र राहतका कार्यमा सक्रिय भूमिका निभाइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे