
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। बजारमा तरलता अत्यधिक बढेपछि मौद्रिक सन्तुलन कायम गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त कदम चालेको हो।
राष्ट्र बैंकले ४२ दिन अवधिका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ। बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड रुपैयाँको प्रस्ताव राख्नुपर्नेछ। अधिकतम सीमा भने ५ करोड रुपैयाँको गुणनफलमा बाँडिनेगरी कुल ५० अर्ब रुपैयाँसम्म रहनेछ।
बोलकबोलको आधारमा तय हुने यो निक्षेप संकलनको ब्याज दर प्रतिस्पर्धात्मक हुने बताइएको छ। बहुब्याजदर प्रणालीमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। राष्ट्र बैंकका अनुसार, सावाँ तथा ब्याज रकम भुक्तानीको म्याद आगामी भदौ १५ गते तोकिएको छ।
यस निक्षेप संकलन प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्।
राष्ट्र बैंकको पछिल्लो यो कदमलाई तरलता व्यवस्थापनका लागि गरिएको संक्षिप्त मौद्रिक हस्तक्षेपको रूपमा लिइएको छ। विगत केही समयदेखि बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएपछि यस्तो पहल गरिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे