
रामेछाप– सिन्धुली र रामेछाप जिल्लाको सुरक्षाका लागि गठित संयुक्त सुरक्षा समितिको सिफारिसमा बिपी राजमार्गको सिन्धुली–खुर्कोट खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा लगाइएको रोकलाई थप ३० दिनका लागि लम्ब्याइएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सोमबार एक सूचना जारी गर्दै सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनलाई प्रत्येक दिन साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म सो खण्डमा सञ्चालन गर्न निषेध गरिएको जनाएको छ। यो प्रतिबन्ध असार २० गतेदेखि आगामी ३० दिनसम्म लागू हुनेछ।
यसअघि असार ६ गतेदेखि १५ दिनका लागि रातिको समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको थियो। तर निरन्तर वर्षा भइरहेकाले जोखिम कायमै रहेको भन्दै प्रतिबन्धको अवधि थप गरिएको हो।
प्रशासनले यात्रु सुरक्षालाई ध्यानमा राख्दै निर्णय गरिएको जनाउँदै असुविधा भएकोप्रति क्षमायाचना समेत गरेको छ। प्रमुख प्रशासकीय अधिकृत प्रवीण कटवालद्वारा हस्ताक्षरित सूचनामा मनसुन अझै सक्रिय रहेकाले राजमार्गमा पहिरो, सडक अवरुद्ध तथा दुर्घटनाको जोखिम उच्च भएको उल्लेख गरिएको छ।
काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा प्रमुखहरूको बैठकले असार ६ गते विपद् न्यूनीकरणका लागि सावधानी अपनाउन सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार राति यात्रुवाहक सवारी साधनको सञ्चालनमा रोक लगाइएको हो।
प्रशासनले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक योजना बनाउन र निषेधित समय अवधिमा यात्राको प्रयास नगर्न आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे