
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो १८ वटा वडाभित्र रहेका २१६ सडकको नाम नयाँ रूपमा स्वीकृत गरेको छ। तीमध्ये केही पुराना नामलाई प्रमाणिकरण गरिएको हो भने केही नामविहीन सडकहरूलाई पहिलोपटक नाम दिइएको हो। यसरी नाम स्वीकृत गरिएका वडा नं. १, २, ८, ९, ११, १२, १४, १६, १८, १९, २०, २१, २४, २५, २७, २८, २९ र ३० रहेका छन्। अन्य वडाहरूमा भने प्रक्रिया जारी छ।
महानगरको सूचना प्रविधि महाशाखाका अनुसार, नाम र नक्सा अनुमोदनको काम वडा स्तरबाट सुरु भई क्रमशः भवन व्यवस्था समिति र अन्ततः कार्यपालिका बैठकमार्फत अन्तिम रूप दिइनेछ।
काठमाडौँ उपत्यका म्यापिङ् कार्यक्रमअन्तर्गत विगतदेखि नै भएका नामहरूलाई प्रमाणिकरण गर्दै र नयाँ नाम दिन नसकिएको सडकहरूलाई समेट्दै इन्भेन्ट्री तयार गर्ने कार्य सुरु भएको हो। यस क्रममा पथ, सडक, मार्ग, गल्लीजस्ता विविध वर्गीकरणका ४ हजार ९७७ वटा सडकमध्ये हालसम्म २ हजार ४१६ वटा मात्र नामाकरण भएका छन् भने बाँकी २ हजार ५६१ सडकको नाम तोकिएको छैन।
नापी अधिकृत तथा सूचना प्रविधि महाशाखा प्रमुख अशोक श्रेष्ठका अनुसार, हालसम्म नक्साङ्कनको आधारमा १ हजार ४९ किलोमिटर लामो सडक संरचना पहिचान गरिएको छ। यसै आधारमा वैज्ञानिक र मौलिक नामाकरण तथा पूर्वाधार अभिलेखनको कार्य भौगोलिक सूचना प्रणाली (GIS) इञ्जिनियर र सर्भेयरहरूको टोलीमार्फत भइरहेको छ।
विशेषगरी वडा नं. ७ मा नामविहीन सडकहरू ठूलो संख्यामा रहेको पाइएको छ। १.७४८ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको यस वडामा ४३.५ किलोमिटर लामो २३९ वटा सडक छन्। तीमध्ये १३८ वटाको नाम भए पनि १०१ वटा सडक नामविहीन रहेका छन्, जसको लम्बाइ ८.९ किलोमिटर छ। यी सडकको नामाकरणका लागि वडाले १५ वटा ग्रीडमा विभाजन गरी आजदेखि समुदायस्तरमा छलफल सुरु गरेको छ।
छलफलमा वडाध्यक्ष विमलकुमार होडाले मौलिकता, सांस्कृतिक सम्पदा र ऐतिहासिकता झल्कने नामहरू कायम राख्नुपर्नेमा जोड दिनुभयो। “संवेदनशील ठाउँ, सामाजिक पहिचान झल्किने नामहरूलाई जोगाएर नयाँ नामाकरण गर्नुपर्छ,” उहाँको भनाइ थियो। वडा सदस्य रूपा थापा क्षेत्रीका अनुसार, टोल र समुदायमा छलफल गरी सडक नाम सिफारिस गर्न जेठ १७ गतेसम्म समय दिइएको छ।
२०५७ सालमा जारी ‘ठेगाना प्रणाली निर्देशिका’ अनुसार, सडकहरू निम्नानुसार वर्गीकृत गरिएका छन्:
पथ: १४ मिटर वा सोभन्दा चौडा (४ लेन वा बढी)
सडक: १०–१४ मिटर चौडाइ
मार्ग: ३–१० मिटर चौडाइ
गल्ली: ३ मिटरभन्दा कम चौडाइ
सडक नामाकरण र नक्साङ्कनको यो प्रयासले फोहरमैला व्यवस्थापन, ट्राफिक नियमन, आपतकालीन सेवा सञ्चालन, योजना निर्माण, तथा सम्पत्ति कर संकलनमा समेत ठोस सहायता पुग्ने महानगरको विश्वास छ। सन् २००१ (वि.सं. २०५८) को उपत्यका म्यापिङ् परियोजनामा आधारित तथ्याङ्क, हालको ड्रोन अर्थोफोटो नक्सा र नयाँ GIS प्रविधिको संयोजनमार्फत राजधानीको सडक प्रणालीलाई एकीकृत, पारदर्शी र व्यावसायिक ढंगले व्यवस्थित गरिँदैछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे