
काठमाडौं। प्रभु बैंक लिमिटेडका सञ्चालक समितिको अध्यक्षमा किशोरजंग कार्की नियुक्त भएका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
शपथ ग्रहण समारोहमा डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बम बहादुर मिश्र, बैंक सुपरीवेक्षण विभागका प्रमुख दीर्घ रावल, प्रभु बैंकका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतको उपस्थिति थियो।
शपथ ग्रहणपछि कार्कीले आजै प्रभु बैंकको सञ्चालक समितिको ३८१ औँ बैठकको अध्यक्षता गर्दै अध्यक्ष पदभार ग्रहण गरे। उनले वि.सं. २०८१ साल असार १९ गते सम्पन्न सञ्चालक समितिको ३८० औँ बैठकबाट सञ्चालक समितिको अध्यक्षमा चयन भएका थिए। यसअघि, वि.सं. २०८१ साल मंसिर २९ गते सम्पन्न बैंकको २३ औँ वार्षिक साधारणसभाबाट सर्वसाधारण समूहका शेयरधनीहरूको प्रतिनिधित्व गर्दै सञ्चालकमा निर्वाचित भएका थिए।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका कार्कीले लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रालयमा सहसचिवको रूपमा सेवा गरेका छन्।
त्यसैगरी, निजामती किताबखाना, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको भूमिका निर्वाह गरिसकेका कार्कीले नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद् र कृषि अनुसन्धान कोषमा सञ्चालक समितिका सदस्यका रूपमा समेत योगदान पुर्याएका छन्।
झण्डै ३८ वर्ष सरकारी सेवामा रही विभिन्न आयोग, विभाग तथा निकायहरूमा सफल नेतृत्व सम्हालेका कार्कीले प्रभु बैंकको अध्यक्ष पदमा चयन हुनुले बैंक, शेयरधनी, ग्राहक र सरोकारवालाहरूका लागि गौरवको विषय बनेको बैंकले जनाएको छ। बैंकले उनको अनुभवी नेतृत्वबाट व्यापार व्यवसाय अभिवृद्धि हुनुका साथै अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला प्राप्त हुने विश्वास व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे