
काठमाण्डौ। नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन आज काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ। पार्टीको विधान २०१७ (संशोधन सहित), नियमावली २०७६, विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ तथा विशेष केन्द्रीय महाधिवेशन निर्वाचन निर्देशिका २०८२ बमोजिम निर्वाचन प्रक्रिया अघि बढाइएको हो।
विशेष केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम के.सी.को संयोजकत्वमा आज निर्वाचन समितिको कार्यालय, काठमाडौंमा बसेको बैठकले निर्वाचन तालिका सार्वजनिक गरेको छ। उक्त तालिकाअनुसार निर्वाचन तथा मतदान कार्यक्रम तय गरिएको समितिले जनाएको छ।
निर्वाचन कार्यक्रमअनुसार आज मिति २०८२ साल पुस २९ गते दिउँसो १२ः३० बजे प्रारम्भिक मतदाता नामावली प्रकाशन, सो नामावलीमाथि दाबी–विरोध दर्ता तथा छानबिन प्रक्रिया दिउँसो १ः३० बजेसम्म सञ्चालन,दाबी–विरोध छानबिनपछि दिउँसो २ः०० बजे अन्तिम मतदाता नामावली प्रकाशन ,त्यसपछि केन्द्रीय कार्यसमिति सदस्य पदका लागि उम्मेदवारहरूको मनोनयन पत्र दर्ता प्रक्रिया सुरु हुनेछ, जसको समय दिउँसो २ः०० बजेदेखि ३ः०० बजेसम्म तोकिएको छ।
निर्वाचन कार्यक्रमअनुसार आज दिउँसो ४ः३० बजे उम्मेदवारहरूको नेपाली वर्णानुक्रम (देवनागरी लिपिमा) अनुसारको प्रथम नामावली प्रकाशन गरिनेछ। सो नामावलीमाथि दिउँसो ४ः३० बजेदेखि ५ः०० बजेसम्म दाबी–विरोध दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
उम्मेदवारीमाथि परेका दाबी–विरोधको छानबिन आजै साँझ ५ः०० बजेदेखि ५ः३० बजेसम्म गरिने निर्वाचन समितिले जनाएको छ। छानबिनपछि उम्मेदवारहरूले साँझ ५ः३० बजेदेखि ७ः३० बजेसम्म मनोनयन दर्ता फिर्ता लिन सक्नेछन्।
यसपछि साँझ ८ः४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। अन्तिम नामावली प्रकाशनपश्चात राति ९ः०० बजेदेखि मतदान प्रक्रिया सुरु भई मध्यरात १ः०० बजेसम्म (२०८२ साल पुस ३० गते) सञ्चालन हुनेछ।
मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु गरिने र मतगणना समाप्त भएपछि निर्वाचन परिणाम घोषणा गरिने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ। साथै, आवश्यक परे निर्वाचन कार्यक्रम संशोधन गर्न सकिने अधिकार समितिमा सुरक्षित रहेको जनाइएको छ।
निर्वाचन प्रक्रिया भृकुटीमण्डप, काठमाडौंमा सम्पन्न हुने र सबै प्रक्रिया निर्धारित समयमै सञ्चालन गरिने निर्वाचन समितिले जनाएको छ। समितिले निर्वाचनलाई मर्यादित, निष्पक्ष र पारदर्शी बनाउन सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।


सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे