
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बन्दैन भन्ने भाष्य गलत सावित हुँदै युवा पुस्तामा टुटेको विश्वास पुनर्जागरण गर्न आवश्यक रहेको बताएका छन् । उनले सोमबार आयोजित बिपी कोइरालाको जीवनीमा आधारित उपन्यास ‘सान्दाजु’को लोकार्पण अवसरमा यो बुँदा राखेका थिए ।
महामन्त्री थापाले युवा पुस्ताको विदेश पलायन नयाँ नभए पनि “देश बन्दैन” भन्ने धारणा खतरनाक रहेको बताए । उनले भने, “युवा आउने-जाने गर्छन्, तर देश बन्दैन भन्ने मानसिकता निर्माण हुन दिनु खतरनाक छ । अब सानातिना विवादभन्दा मुलुकको अफ्ठ्यारोमा निकास दिन हामीले ठोस भूमिका खेल्नुपर्छ । हामीसँग भाग्ने विकल्प छैन ।”
नेपाली कांग्रेस तीन तहको सरकारमा रहे पनि कार्यकर्तामा गुनासो रहेको उल्लेख गर्दै थापाले भने, “अब कांग्रेसको प्राथमिकता सत्ता होइन, राष्ट्रिय शक्ति बन्नु हो । राष्ट्रिय समस्यालाई बुझ्ने, समाधान गर्ने क्षमता नै वास्तविक शक्ति हो ।”
लेखक शुभाष घिमिरेद्वारा लिखित उपन्यास ‘सान्दाजु’ लोकार्पण गर्दै थापाले यसलाई बिपी कोइरालाको जीवनीमा आधारित गरिएको साहित्यिक प्रयास बताए । उनले भने, “बिपीबारे धेरै लेखिएको छ, तर उनको जीवनलाई काल्पनिक पात्रसँग जोडेर उपन्यास बनाउनु चुनौतीपूर्ण काम हो । यसले लोकतन्त्र र अन्य विचारधाराका व्यक्तिहरूलाई पनि जानकारी दिनेछ ।”
लेखक घिमिरेले उपन्यास बिपी कोइरालालाई साहित्यकार र मानवतावादी चिन्तकका रूपमा चित्रण गरेको बताए । उनले भने, “बिपीको बहुआयामिक व्यक्तित्वले प्रेरित गरेर मैले यो कृति लेखेको हुँ । आजको प्रतिक्रियाले मलाई अझै प्रोत्साहन दिएको छ ।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे