
काठमाडौँ। संयुक्त राष्ट्रसंघीय अन्तरिम सुरक्षा बल (युनिस्फा)–अबेइका लागि नेपालका मेजर जनरल गणेश श्रेष्ठ कुमारले बल कमाण्डरको रूपमा औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ। उहाँले घानाका मेजर जनरल रोबर्ट याव अफ्रेमको स्थानमा उक्त जिम्मेवारी सम्हाल्नुभएको हो।
युनिस्फाले जनाएको अनुसार नवनियुक्त बल कमाण्डर मेजर जनरल श्रेष्ठले कार्यभार सम्हालेसँगै मिशन मुख्यालय अबेइको स्थलगत निरीक्षण गर्नुभएको छ। यस क्रममा उहाँले कादियन गाउँस्थित दक्षिणी सेक्टर, रुम आजाकको केन्द्रीय सेक्टर तथा तोडाग गाउँको उत्तरी सेक्टरको अनुगमन तथा निरीक्षण गर्नुभएको थियो।
निरीक्षणका क्रममा मेजर जनरल श्रेष्ठले मिशनको जनादेश प्रभावकारी रूपमा कार्यान्वयन गर्नु, सर्वसाधारण नागरिकको सुरक्षा सुनिश्चित गर्नु तथा क्षेत्रमा दिगो शान्ति स्थापना गर्नु आफ्नो प्रमुख प्राथमिकता रहने स्पष्ट पार्नुभएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२५ डिसेम्बर २ मा मेजर जनरल गणेश श्रेष्ठ कुमारलाई युनिस्फाको बल कमाण्डरमा नियुक्त गर्नुभएको थियो। सो नियुक्तिअनुसार उहाँले सन् २०२६ जनवरी २५ देखि औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे