
जेनेभा — नेपाल विश्व स्वास्थ्य संगठन (WHO) को कार्यकारी समितिको सदस्यमा सर्वसम्मतरूपमा निर्वाचित भएको छ।
संगठनको ७८औं महासभा जेनेभामा जारी रहँदा, नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट आगामी तीन वर्षका लागि कार्यकारी समितिमा निर्वाचित भएको हो। यस ऐतिहासिक निर्णयले नेपालका स्वास्थ्य क्षेत्र सुधारका प्रयासहरूलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको छ।
नेपालको निर्वाचनलाई स्वास्थ्य तथा कूटनीतिक क्षेत्रमा ठूलो उपलब्धिको रूपमा हेरिएको छ। कार्यकारी समितिमा सदस्यता पाउँदा, नेपालले विश्वका उत्कृष्ट स्वास्थ्य अभ्यासहरूसँग अन्तरक्रिया गर्ने अवसर पाउनेछ भने आफ्ना सफल नीति तथा कार्यक्रमहरू पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न सक्नेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो उपलब्धिलाई नेपालको स्वास्थ्य नीति र कार्यान्वयन क्षमताको पुष्टि भएको बताउँदै अन्तर्राष्ट्रिय स्तरमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न प्रेरणा मिलेको जनाएको छ।
नेपाल सरकार, स्वास्थ्यकर्मी, विज्ञ, सरोकारवाला निकाय र सम्पूर्ण नेपाली नागरिकको साझा प्रयासका कारण यो सफलता सम्भव भएको भन्दै मन्त्रालयले सबैलाई बधाई दिएको छ।
नेपालको सक्रियता अब विश्व स्वास्थ्य नीति निर्माणमा थप सशक्त रूपमा देखिने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे