
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले असार १ गते (जुन १५) देखि भारतको प्रसारण लाइनमार्फत बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। गत वर्ष पहिलोपटक कात्तिक १८ गते १२ घण्टाका लागि बङ्गलादेशलाई विद्युत् निर्यात गरिएको थियो। यस वर्ष भने पाँच महिनासम्म निरन्तर विद्युत् आपूर्ति गरिनेछ।
नेपाल, भारत र बङ्गलादेशबीच भएको त्रिपक्षीय सम्झौता अनुसार त्रिशूली जलविद्युत् केन्द्रबाट १८.६० मेगावाट र चिलिमे आयोजनाबाट २१.४० मेगावाट विद्युत् बङ्गलादेश पठाइँदैछ। यो विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफ्फरपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुर्याइनेछ।
पाँच महिनामा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुने र त्यसबाट करिब १ अर्ब २९ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणका उपप्रबन्धक सुवर्ण सापकोटाले जानकारी दिएका छन्। बिक्री दर प्रति युनिट ६.४० अमेरिकी सेन्ट तोकिएको छ।
यो निर्यातले नेपालको जलविद्युत् क्षमताको उपयोग, ऊर्जा सन्तुलन तथा अर्थतन्त्र सुदृढीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ। सरकारले सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे