
काठमाडौँ। नेपाल टेलिकमले आफ्नो स्थापनाको २२औँ वार्षिकोत्सव आज (२०८२ माघ २२) देशभर विविध कार्यक्रमसहित मनाएको छ। कम्पनीको केन्द्रीय कार्यालयसहित सबै प्रादेशिक निर्देशनालय तथा कार्यालयहरूमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो।
केन्द्रीय कार्यालयमा आयोजित मूल समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष लक्ष्मी कुमारी बस्नेतको अध्यक्षता रहेको थियो भने गृह मन्त्री ओम प्रकाश अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। समारोहमा बोल्दै गृह मन्त्री अर्यालले डिजिटल डिभाइड न्यूनीकरण तथा ग्रामीण तथा दुर्गम क्षेत्रमा सञ्चार पहुँच विस्तारमा नेपाल टेलिकमले पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। सुशासनमार्फत नागरिक र सरकारबीचको सम्बन्ध सुदृढ बनाउन कम्पनीका सेवा र पूर्वाधारको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो। सरकारले लिएका नीति तथा कार्यक्रमलाई आत्मसात गर्दै नेपाल टेलिकमले सरकारसँग सहकार्य गर्ने र कम्पनीको सुदृढीकरणमा सरकारको अभिभावकत्व निरन्तर रहने उहाँले स्पष्ट पार्नुभयो।
अध्यक्ष बस्नेतले नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसात गर्दै सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाहमा नेपाल टेलिकमले निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले देशको प्रमुख सेवा प्रदायकको रूपमा नेपाल टेलिकमले टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेसन जस्ता डिजिटल सेवाको विकासमा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। विशेष गरी दुर्गम क्षेत्रसम्म डिजिटल सेवा पुर्याउन आवश्यक पूर्वाधार निर्माण गर्न जरुरी रहेको र यसले जनजीवनमा सकारात्मक परिवर्तन ल्याउँदै राष्ट्रिय डिजिटाइजेसन अभियानलाई गति दिने उहाँको भनाइ थियो।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले दक्ष जनशक्ति भएको नेपाल टेलिकमले नेटवर्क विस्तारमार्फत बजार अझै फराकिलो बनाउन सक्ने सम्भावना रहेको बताउनुभयो। सोहीअनुसार आम्दानी वृद्धि गर्न सकिने भएकाले रणनीतिक रूपमा अगाडि बढ्नुपर्ने सुझाव उहाँले दिनुभयो। प्राधिकरणमार्फत सञ्चालन भइरहेका परियोजनाहरू समयमै सम्पन्न गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) लोकबहादुर कटुवालले स्वच्छ प्रतिस्पर्धाको नाममा नेपाल टेलिकमजस्ता संस्थाले लाइसेन्स प्राप्ति तथा नवीकरणमा अत्यधिक शुल्क तिर्नु परेको उल्लेख गर्दै आगामी दिनमा यस विषयमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। कर्मचारी सरोकारका विषयमा सञ्चालक समिति र व्यवस्थापनबीच सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले कम्पनीको समग्र प्रगति विवरण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार फोरजी एलटीई सेवा विस्तार सफलतापूर्वक सम्पन्न भई सातै प्रदेशका ७७ जिल्लाका ७४९ स्थानीय तहमा सेवा विस्तार भइसकेको छ। फाइभजी सेवा सुरु गर्ने सम्बन्धमा आपूर्तिकर्ताबाट प्राप्त प्रस्तावको अध्ययन सम्पन्न भई हाल रिभ्यु चरणमा रहेको जानकारी उहाँले दिनुभयो। ‘राष्ट्रको सञ्चार’को भूमिकामा रहँदै नेपाल टेलिकमले दुर्गम तथा अति विकट क्षेत्रमा समेत निरन्तर सेवा प्रदान गर्दै आएको उहाँको भनाइ थियो।
२२औँ वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले विभिन्न आकर्षक ग्राहक योजना सार्वजनिक गरेको छ। माघ २२ देखि माघ २८ सम्म विभिन्न डाटा, भ्वाइस र एसएमएस समेटिएका विशेष प्याकेजहरू उपलब्ध गराइनेछ। साथै, दूरसञ्चार कार्यालयमा रु. ९० मा बिक्री हुँदै आएको सिमकार्ड रु. २२ मै उपलब्ध गराइने व्यवस्था गरिएको छ। एफटीटीएच सेवाअन्तर्गत नयाँ जडानमा माघ २२ देखि फागुन २२ सम्म जडान शुल्क मिनाहा गरिएको छ भने विद्यार्थी अफरको अवधि २२ फागुन २०८२ सम्म थप गरिएको छ।
कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट रिचार्ज कार्ड बिक्रेता, एमपोस बिक्रेता, लिज लाइनका ठूला ग्राहक तथा एफटीटीएच र मोबाइल सेवामा उत्कृष्ट कार्यालयलाई सम्मान गरिएको थियो। साथै, कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे