
काठमाडौँ– सगरमाथा आरोहणमार्फत नेपाल प्रहरीको गौरव बढाएका प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई विशेष बढुवा दिई प्रहरी नायव निरीक्षक बनाइएको छ।
नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको अध्यक्षतामा जेठ ६ गते नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समिति (PCC) को बैठकले शेर्पालाई विशेष बढुवा दिने निर्णय गरेको हो।
आईजीपी थापाले आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रहरी नायव निरीक्षक शेर्पालाई दर्ज्यानी चिन्ह प्रदान गरी सुशोभन गर्नुभयो।
समारोहलाई सम्बोधन गर्दै आईजीपी थापाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै प्रहरी संगठनको गौरव बढाउने कार्यप्रति उच्च प्रशंसा व्यक्त गर्नुभयो। उहाँले पदोन्नतिसँगै जिम्मेवारी र मर्यादा अझ बढ्ने भन्दै आगामी दिनमा झनै समर्पणका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो।
शेर्पाले २०८२ साल जेठ ५ गते सोमबार बिहान ८:५६ बजे सगरमाथाको चुचुरोमा पुगेर नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा “महिला र बालिकाहरू विरुद्धको हिंसा अन्त्य गर्न एकजुट बनौं” भन्ने सन्देशसहितको ब्यानर फहराउन सफल हुनुभएको थियो।
उहाँको यो अद्वितीय योगदानले मात्र व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण प्रहरी संगठनको प्रतिष्ठा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे