
काठमाडौं। नेपाल सरकारको गृह मन्त्रालयले हालै काठमाण्डौसहित मुलुकका विभिन्न स्थानमा जेन-जी (Gen-Z) पुस्ताद्वारा गरिएको आन्दोलनका क्रममा हराएका हातहतियार तथा खरखजाना फेला परे नजिकको सुरक्षा निकायमा बुझाउन सार्वजनिक सूचना जारी गरेको छ। मन्त्रालयले असोज मसान्तसम्म बुझाउने व्यवस्था गरेको छ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा भनिएको छ, “२०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा हराएका हातहतियार तथा खरखजाना कोही कसैलाई फेला परेमा, नजिकैको सुरक्षा निकायमा असोज मसान्तसम्म बुझाउन अनुरोध गरिन्छ।”
सूचनामा, तोकिएको मितिभित्र बुझाउने वा जानकारी दिने व्यक्तिलाई उचित सम्मान गरिने पनि उल्लेख गरिएको छ। तर, तोकिएको समयसीमा समाप्त भएपछि कसैसँग यस्ता हातहतियार वा खरखजाना फेला परेमा, सम्बन्धित व्यक्तिमाथि कानून बमोजिम कडा कारवाही हुने चेतावनी समेत दिइएको छ।
गृह मन्त्रालयले यस विषयमा आम सर्वसाधारणलाई सजग रहन आह्वान गर्दै, मुलुकभरका सुरक्षा निकायलाई समेत संवेदनशील ढंगले परिचालन गरिसकेको जनाएको छ।
मन्त्रालयले सुरक्षासम्बन्धी उपकरण र खरखजानालाई संवेदनशील विषय मानेर तत्काल राज्य निकायमा बुझाउन अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे