
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनसम्बन्धी तयारी अघि बढाउन निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आगामी असोज ३० गते छलफलका लागि बोलाएको छ। आयोगले प्रमुख राजनीतिक दलहरूलाई पत्राचार गर्दै निर्वाचन कार्यतालिका, तयारी अवस्था र आवश्यक समन्वयबारे छलफल गर्न आमन्त्रण गरेको हो।
आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दललाई छलफलमा सहभागी हुन अनुरोध गरिएको छ। यस छलफलमा आगामी निर्वाचनको कार्यान्वयनका लागि आवश्यक राजनीतिक सहमति, स्रोत व्यवस्थापन, सुरक्षासम्बन्धी तयारी र निर्वाचन आचारसंहिताको कार्यान्वयनका विषयमा समेत विचारविमर्श हुने अपेक्षा गरिएको छ।
आयोगले यसअघि असोज २० गते प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक कार्यतालिका सार्वजनिक गरेको थियो। तर, आयुक्त डा. तुलाधरका अनुसार सो तालिका आयोगको आन्तरिक योजना मात्र भएकाले अन्तिम निर्णय राजनीतिक दलहरूसँगको छलफलपछि लिइनेछ। उनले भनिन्, “निर्वाचन कार्यक्रम र तयारीबारे सबै दलबीच साझा समझदारी कायम गर्न छलफल आवश्यक देखिएको छ।”
आयोगका अनुसार हाल मतदाता नामावली अद्यावधिक, मतदान केन्द्रहरूको समीक्षा, कर्मचारी व्यवस्थापन र प्राविधिक तयारीका कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ। फागुनमा तोकिएको निर्वाचन मिति नजिकिँदै जाँदा आयोगले सबै तहमा समन्वय र पारदर्शिता सुनिश्चित गर्न दलहरूको सुझावलाई समेट्ने जनाएको छ।
आयोगले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबै दलहरूको सक्रिय सहयोग अपेक्षा गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे